Tuesday 16 February, 2010

गज़ल

पलाँस फूल हाँस्दै टिपेर जाऊ भन्छे |
गुलाब मच्ची मच्ची म संगै आऊ भन्छे ||

चमेली ठुस्स पर्दै गम्किन्छे मग्ग मग्ग |
गुराँस मख्ख पर्दै मेरै पो नाउँ भन्छे ||

जाई र जुही मिलि गोधुली पर्ख भन्दा,
बेलीको लहराले हृदय छाउ भन्छे ||

मालती मन भरि छाएर फुल्छे अरे |
शिरिष हल्ली हल्ली लौ, गीत गाउ भन्छे ||

मख्मली दङ्ग पर्दै गलैमा झुन्डिने भै |
बाबरी गम्की गम्की पिरती लाउ भन्छे ||

No comments: