Wednesday 1 October 2014

गजल

यो मान्छेको मन भित्र सँधै अर्को खोजि हुन्छ |
बिन्दु छैन पुर्पुरोमा लामो धर्को खोजि हुन्छ |

गर्मि भरि घाम छेक्न चौतारीको भर पर्छन
जाडो लाग्छ त्यहि घाम अझै चर्को खोजि हुन्छ |

कठोर त्यो कलेजो र निर्दयको मुटु बोकी
ओढ्न सँधै दयारुपी न्यानो बर्को खोजि हुन्छ |

गिद्द बरु उडी आउँछ मरेको त्यो सिनो खान 
मान्छेको नै भोक टार्न जिउँदा हर्को खोजि हुन्छ |

नर्कमा धेर भिड भएर धेरै शाखा खुल्दै छ रे
स्वर्ग जान आत्मै देखि शुद्द नर्को खोजी हुन्छ |

Thursday 3 April 2014

"बसाईं सरेका शिखरहरु...."


युगिन सपना बोकेर
हजुर बाउको तमसुक च्यात्न
पंखेटाका प्वाँख तन्काएर
वायुको गतिमा
गाउँ बेसी फाँट छिचोल्दै
नदीको बहावलाई उछिन्दै
आज बिसंखे कान्छाको मनचरो
उडेको छ गगनमा !!!
...
झिस्मिस्सेमा भालेको डाकसंगै
घोप्टे भीरको ओरालोका
चिप्लेटी ढुंगामा थर थर काम्दै,
पिपल दमार देखि आएको
भैमानको छोरोले
आज दश बर्ष पछि
अरबमा शिखर चुमेको खबर
सुनेको दोश्रो दिन
बिशंखे कान्छाले
पत्तो पायो
शिखर त
अरब तिर पो बसाईं गएछन !

नागदहको कुइनेटोमा बसेर
चारै तिर आँखा तन्काएर
शिखर खोज्यो,
कहिँ कतै भेटिन्छन कि भनेर !
अँह,
छैन कहिँ कतै शिखरको नाक मुख
छन् त केवल
ढुंगा र माटाका थुप्राहरु
सिरु र गन्धेका झुप्पाहरु
अनि आधा डढेका कोइला निस्कने ठुटाहरू
यी र यस्तै
अर्ध मुर्छित र निष्प्राण भौतिकता मात्र :
सबै तिर उजाड उराठ देख्दा
बल्ल पो चाल पाएथ्यो
मरुभूमि भिर पाखा गाउँ बेसी छिरेछ |

अनि अर्को गुह्य कुरो बुझ्यो,
शिखर मात्र हैनन
मरुभूमि पनि बसाईं आएछन

शिखर अरब गएछन,
मरुभूमि स्वदेश पसेछन |

Friday 29 March 2013

गजल


चन्द्रमामा दाग पनि सुहाएको जस्तो लाग्छ
लुकी लुकी बादलबाट चिहाएको जस्तो लाग्छ

बिहानीको सुर्य संग किरण पैंचो मागी मागी
साँझ पछी मलाई भेट्न उदाएको जस्तो लाग्छ

औंशी अनि अरु रातको फरक फरक आकारले
बेला संगै यो जीन्दगी चलाएको जस्तो लाग्छ
...
ढकमक्क जुनेलीमा शीतको थोपा झर्दा खेरि
रुँदा, हाँस्दा आँशु झर्ने बताएको जस्तो लाग्छ

अंग मात्र हैन अचेल मनै रंगीन भएको छ
मुटु भित्रै पूर्ण चन्द्र अटाएको जस्तो लाग्छ

Saturday 2 February 2013

गजल


बिहान बोकी ल्याउँछु दियो बाली बस्नु तिमी
गोधुलीमा उदाउँछु दियो बाली बस्नु तिमी

दिन रात गनी गनी धेरै बस्यौ सम्झनामा  
मिलन बोकेर आउँछु दियो बाली बस्नु तिमी

जीवन जीवन कहाँ हुन्थ्यो प्रित टाढा भए पछि 
यो छातीमा लुकाउँछु दियो बाली बस्नु तिमी

नियतिले पनि आँशु झार्यो हाम्रो छट्पटीमा
आँखा भित्रै अटाउँछु दियो बाली बस्नु तिमी

पाउजुको सजावट र सोह्र शृंगार गरी बस्नु
मनको गीत गाउँछु दियो बाली बस्नु तिमी




गजल

मेरो बासको चिन्ता नगर न साथी ।।
आकाशको छानो छ म भन्दा माथि ।।

बिछ्यौनामा धुलो आराम गर्नलाई,
सिरानीमा यीनै ढुंगा-मुढा नै छ जाती ।।

उल्लु गाउँदा बज्छ न्याउलीको संगीत
मन्त्र मुग्ध हुन्छु शितल हुन्छ छाती ।।

जूनले सोध्छे किन एकोहोरो हेर्छस् ?
सुन्दरी तँ  किन उदाउँछेस् त राती  !

 



गजल

उत्तर आउंदैन यहाँ  प्रश्न हजार भए पनि !
मनको कुरा भेटिंदैन मन कै बजार भए पनि !

खुसी लुक्ने गुफा खोज्दा दुखाउने घाम भेट्छु,
काँडाको नै भर लाग्छ फूल कै प्यार भए पनि !


बरु दिनमा मान्छेसंगै डर लाग्न थालेको छ,
यो रात नै प्यारो लाग्छ अन्धकार भए पनि  !

गीता किन पढ्नु पर्यो उल्टो बुझ्न सके जग,
भीक माग्नु पर्छ आफ्नै अधिकार भए पनि  !

चित्त दुख्ने कुराहरु के के सम्म भनौ मैले,
विद्वानले नै मानेका छन् कुसंस्कार भए पनि !






Monday 28 January 2013

गजल

समयले मलाई फेरी आफ्नै ठानेको छ !
जानी जानी अँध्यारोमा गोली  हानेको छ !

रुँदै आमा भन्छिन छोरो भो फर्केर आइज
भनें नरोउ यो छोरोले मैदान छानेको छ !

फूलहरु निर्वस्त्र भै झरे भने बोटबाट  
काँडा पनि सर्माउँछन् कसले जानेको छ ?

लडाईं हो यहाँ कुनै नियम कानून लागू हुन्न
जीत्नेलाई त समाजले देउतै मानेको छ !

Sunday 27 January 2013

गजल

म मर्दा त्यसको समाचार नबनोस      
र लाश ओढाउने फूलको हार नबनोस

दिन कै खतरा छ जीउन तिनीहरुलाई
ज्यामी बनोस छोरो पत्रकार नबनोस

हो, सबै संग छ ठगी गर्ने कला यहाँ
ए छोरो !त्यो नाती कलाकार नबनोस

सजग भएर बस्नु ....कुर्सी ओगट्नेहरु 
खिया लाग्या खुकुरीमा धार नबनोस

Thursday 24 January 2013

चरीसंगको प्रेमाभाष

यौटी चरी हरेक बिहान
मेरो शयन कक्षको
दलिनमा आउंछे,
चिरबिर चिरबिर गर्दै !

मानव हूँ म !
बुझ्छु उसको भाव
भाषा नबुझे पनि !

मुठ्ठी भरी दाना खान्याई दिन्छु
उफ्री उफ्री नाच्दै नाच्दै
पेट नभरिउन्जेल चारो टिप्छे l

म दंग पर्छु उसको त्यो
आत्मासंतुष्टि प्रप्तिको
उत्साहमा !

सन्तुष्ट भए पछि
म पट्टी फर्किएर
पुलुक्क हेर्छे !

शायद धन्यवाद् !
हुनु पर्छ त्यो,
म पुलकित हुन्छु l

उ भुर्र उडेर जान्छे,
हेरि रहन्छु म
आँखाबाट ओझेल
नहुन्झेल

उ त जान्छे
तर म
अर्को बिहानको
पर्खाईमा हुन्छु !

गजल,

संगै जिउन चाहन्छु म अब तिम्रो जीवन देउ
थोरै तिम्रो स्वास मिसाई शीतल शीतल पवन देउ

फूल जस्तै कोमल पन यो मुटुमा भेट्टाउँछौ
म फुल्नलाई त्यो मनको फराकिलो आँगन देउ

हिजो सम्म माग्नलाई शर्माउने भिकारी थें
नयन भित्र बास चाहन्छु नानी भित्र शरण देउ

दुरी जति जति बढ्छ छट्पटाउँछु विक्षिप्त भै
फर्किएर आउ प्रिय दुई आत्माको मिलन देउ

साथ पाए सातै जुनी धर्ति टेक्न मन्जुर छ
हैन भने यो जीवनको स्थायित्व निधन देउ 

Wednesday 23 January 2013

गजल

आकाशले सोधेकोथ्यो आश कसैको लाग्छ ?
भनें मलाई एकान्तमा प्यास कसैको लाग्छ !

चियो गर्न बादल आयो देख्यो मलाई  एक्लै,
भन्दै गयो पर्खाई यो ख़ास कसैको लाग्छ !

अप्सराले इशारमा बोलाउंदा नहेरे पछि,
इंद्रसँग भनेछन् त्यो लाश कसैको लाग्छ !

यामराजले पाए खबर इन्द्रले जे सुनेकाथे,
खास्खुस सुनें ज्यान त यै हो सास कसैको लाग्छ !

Sunday 6 January 2013

गज़ल


भन्नै पर्ने खास धेरै हुन सक्छन् l 
नियतिका दास धेरै हुन सक्छन् l 

बिहानीले छर्छ आशाको उज्यालो,
साँझमा उदास धेरै हुन सक्छन् l 

मन्दिर छेउ फूल्ने फूलसंग सोधी हेर,
सन्यासीका प्यास धेरै हुन सक्छन् l 

हाँस्दा मात्रै हैन दुख्दा पनि साथ खोजे,
अपनत्व आभाष धेरै हुन सक्छन् l 

चाहिएको भन्दा पनि चाहनेको साथसंग,
जीवनको मधुमास धेरै हुन सक्छन् l 

भरिशामा शंका हुनु पिरतीको नियमै हो,
शंका पछीका विश्वास धेरै हुन सक्छन् l

गज़ल,

तराजुको एउटा पल्ला भारी भए जस्तो छ !
डण्डि थेग्ने हात नै बिमारी भए जस्तो छ!

खोजे जति भेटे कै थें अब भेट्ने छाँट् छैन !
मेरो आफ्नो दैव नै भिकारी भए जस्तो छ !

सबैसंग राम्रो नै छ म सबैको परम मित्र l
छेड्यो छाती यो मनै शिकारी भए जस्तो छ !

हौसलामा हिम्मत'थ्यो हिम्मतमा चन्द्रमा'
आशा हैन निराश आज्ञाकारी भए जस्तो छ !

बाटो खोज्छु जब जब भेल आई छेक्दछ !
म र मेरो जीवन वारी पारि भए जस्तो छ

गजल


कि मैले तिमीलाई अन्धकार दिनु पर्थ्यो !
या त घाँटी सेर्ने एउटा औजार दिनु पर्थ्यो !

धेरै चोटी हारें भन्थ्यौ बिगतमा आफैंसंग ,
आशा फुल्ने बगैंचाको विचार दिनु पर्थ्यो !

प्रस्तावको पोको बोकी लर्खरिंदै आएकीथ्यौ  l
फर्काउनुको साटो मैले स्वीकार दिनु पर्थ्यो !

एक्लै थियौ जगतले लखेटेको त्यो बेलामा l
सहाराको हात माग्दा आधार दिनु पर्थ्यो !

डुबेकोथ्यो आशांक यो दुनियाको चंगुलमा ,
स्वार्थी हुँदा आफैलाई धिक्कार दिनु पर्थ्यो !

Monday 24 December 2012

गज़ल

बेला छुटेर जान्छ रहर किन बाँकी अझै
मलाई लुटेर जान्छ रहर किन बाँकी अझै

थोपा थोपा आँशु पनि साउनको झरी जस्तै
आउँछ चुटेर जान्छ रहर किन बाँकि अझै

तिम्रो बगैंचाका सबै मनमोहक फूलहरु
शीतले चुसेर जान्छ रहर किन बाँकी अझै

सम्झनामा मैले कति दुख्दा दुख्दै गजल लेखें
नजर चुकेर जान्छ रहर किन बाँकी अझै

हरेक रात चन्द्रमाको पर्खाईमा हुन्छु अचेल
सपना टुटेर जान्छ रहर किन बाँकी अझै