Showing posts with label गज़ल. Show all posts
Showing posts with label गज़ल. Show all posts

Sunday, 6 January 2013

गज़ल


भन्नै पर्ने खास धेरै हुन सक्छन् l 
नियतिका दास धेरै हुन सक्छन् l 

बिहानीले छर्छ आशाको उज्यालो,
साँझमा उदास धेरै हुन सक्छन् l 

मन्दिर छेउ फूल्ने फूलसंग सोधी हेर,
सन्यासीका प्यास धेरै हुन सक्छन् l 

हाँस्दा मात्रै हैन दुख्दा पनि साथ खोजे,
अपनत्व आभाष धेरै हुन सक्छन् l 

चाहिएको भन्दा पनि चाहनेको साथसंग,
जीवनको मधुमास धेरै हुन सक्छन् l 

भरोशामा शंका हुनु पिरतीको नियमै हो,
शंका पछीका विश्वास धेरै हुन सक्छन् l

गज़ल,

तराजुको एउटा पल्ला भारी भए जस्तो छ !
डण्डि थेग्ने हात नै बिमारी भए जस्तो छ!

खोजे जति भेटे कै थें अब भेट्ने छाँट् छैन !
मेरो आफ्नो दैव नै भिकारी भए जस्तो छ !

सबैसंग राम्रो नै छ म सबैको परम मित्र l
छेड्यो छाती यो मनै शिकारी भए जस्तो छ !

हौसलामा हिम्मत'थ्यो हिम्मतमा चन्द्रमा'
आशा हैन निराश आज्ञाकारी भए जस्तो छ !

बाटो खोज्छु जब जब भेल आई छेक्दछ !
म र मेरो जीवन वारी पारि भए जस्तो छ

गजल


कि मैले तिमीलाई अन्धकार दिनु पर्थ्यो !
या त घाँटी सेर्ने एउटा औजार दिनु पर्थ्यो !

धेरै चोटी हारें भन्थ्यौ बिगतमा आफैंसंग ,
आशा फुल्ने बगैंचाको विचार दिनु पर्थ्यो !

प्रस्तावको पोको बोकी लर्खरिंदै आएकीथ्यौ  l
फर्काउनुको साटो मैले स्वीकार दिनु पर्थ्यो !

एक्लै थियौ जगतले लखेटेको त्यो बेलामा l
सहाराको हात माग्दा आधार दिनु पर्थ्यो !

डुबेकोथ्यो आशांक यो दुनियाको चंगुलमा ,
स्वार्थी हुँदा आफैलाई धिक्कार दिनु पर्थ्यो !

Monday, 24 December 2012

गज़ल

बेला छुटेर जान्छ रहर किन बाँकी अझै
मलाई लुटेर जान्छ रहर किन बाँकी अझै

थोपा थोपा आँशु पनि साउनको झरी जस्तै
आउँछ चुटेर जान्छ रहर किन बाँकि अझै

तिम्रो बगैंचाका सबै मनमोहक फूलहरु
शीतले चुसेर जान्छ रहर किन बाँकी अझै

सम्झनामा मैले कति दुख्दा दुख्दै गजल लेखें
नजर चुकेर जान्छ रहर किन बाँकी अझै

हरेक रात चन्द्रमाको पर्खाईमा हुन्छु अचेल
सपना टुटेर जान्छ रहर किन बाँकी अझै

Wednesday, 19 December 2012

गजल

किन कसलाई गलत ठानौं भयो अब राम्रै देख्छु |
दुख्ने चित्त निचोरेर म खुसीका गजल लेख्छु |

जो जो जहाँ भए पनि शिर माथि आकाशै छ
उसले तिम्ले जस्तै अब मैले पनि धर्ती टेक्छु

जति दिन बचेको छ त्यो पनि त काफी छैन
अब मेरो समयलाई हीरा भन्दा महंगै  बेच्छु

मैले मेरो मलाई अनि हामी हाम्रो सोचौं भन्ने
स्वार्थ छोड्छु निरीहको बेदनामा घाउ सेक्छु

निम्तो दिएँ सबैलाई चित्त बुझे साथै जाउँ
एक्लै हिड्नै परे पनि अब पक्कै लक्ष भेट्छु

Monday, 29 October 2012

गज़ल,

देख्न त सागरमा आकाश देखिन्छ  !
मुहारमा पीडाको आभाष देखिन्छ  !

भिजेको आँखाले पनि त भनेकोथ्यो  !
हारै पिच्छे आशाको विकाश देखिन्छ !

कुनै दिन तिमीले पक्कै स्वीकार्नेछौ,
जीतमा सपनाको सुवास देखिन्छ !

भनेकै थें मैले, भन्नु पर्ने सबै कुरा !
सोची हेर सजिलै निकाश देखिन्छ !

जस्तो चस्मा छ आँखाले त्यस्तै देख्छ,
दुखेर हेर्दा फूल पनि उदास देखिन्छ  !

Monday, 4 June 2012

गज़ल,

जब कोहि आफ्नो लाग्छ रुवाउने उसैले हो ||
तिम्रो पिडा देख्दा आँशु चुहाउने उसैले हो ||

अनि पो त सम्बन्धको चित्र बन्छ मन भित्र,
शंका गर्दा पनि कसम खुवाउने उसैले हो ||

हरियाली बशन्तको पालुवा झैँ शितलता
पल पल हृदयमा चुमाउने उसैले हो ||

तिम्रो सबै जीवनको धुलोमैलो हटाउन
प्रभातीय किरणले नुहाउने उसैले हो ||

मान्छे नै हो सबैलाई दुख्ने गर्छ कुनै बेला
दुखाइ त्यो मेट्न सुम-सुम्याउने उसैले हो ||

अल्मलिदा जीवनको गोरेटो र दोबाटोमा
सहि मार्ग अनि लक्ष छुवाउने उसैले हो ||

गजल

जहाँ डेरै भेटिंदैन घर दिन्छु भन्ने भेटें !
भीरबाट धकेलेर भर दिन्छु भन्ने भेटें !

जीन्दगीको चौतारीमा संधैं संगै भएका ति !
पिपलुलाई छुट्टयाएर बर दिन्छु भन्ने भेटें  !

आत्मा पनि बिक्री गर्ने बजारका व्यापारीले,
अमृत झैं मेरा यी अधर दिन्छु भन्ने भेटें !

अन्धकार भित्र बस्ने धमिलो त्यो मुहारले,
माग्यौ भने सुनौलो सहर दिन्छु भन्ने भेटें !

चिता माथि पुग्दा पनि चित्त बुझ्दो रहेनछ,
अब चाहिँ अजम्बरी रहर दिन्छु भन्ने भेटें !

Friday, 21 October 2011

गजल


जता सुकै जाऊ तिमी हिड्नलाई रोक छैन | 
दोबाटोमा अल्झाउने मेरो कुनै चोक छैन |

झटारोको दाउ थापी आँप खोज्ने गर्दिन म
सबै तिम्रो मनोमानी अट्ने कुनै थोक छैन |

खाने कुरा देखे पछी सबैलाई खाउँ लाग्ला
तर तिमीसँग मागी खाने मेरो भोक छैन |

मेरो यस्तै प्रकृति छ नठान्नु यो रिसाएछ !
सामान्य नै छु म यहाँ देखाउने झोक छैन |

बिन्ती अनि अनुरोध गर्न आयो नसोच्नु है
तिमीलाई राजी पार्ने त्यस्तो कुनै तोक छैन |

गजल


सबैलाई आफु जस्तै देख्नेहरु यसै भन्छन् ! 
बुझ्न हैन बुझाउन लेख्नेहरु यसै भन्छन् !

आफ्नो मात्र स्वाभिमान शिखरमा पुग्नुपर्छ, 
हचुवाको धरातल टेक्नेहरू यसै भन्छन् !

दुनियाको मर्म बुझ्न के को चासो आफुलाई, 
मित्रताको ढाल राखी छेक्नेहरु यसै भन्छन् !

मलाई ठिक लागे पछी सबैको मत एकै हुन्छ,
हुट्टीट्याउँ झैँ सारा सहर थेग्नेहरु यसै भन्छन् ! 

गजल


गल्ति नगर्ने भए देउता म हुन्थें होला
चाहेको मिल्ने भए त्यो चन्द्र छुन्थें होला

साधुको भेष गर्दा पापको नाश भए
त्यागेर सारा गेरु वस्त्र नै चुन्थें होला

झरेर आँशु कालो कर्तुत लुक्ने भए
छाती पिटेर डाँको छोडेर रुन्थें होला

आशाको दियो भित्र तिलको तेल हाली
मन यो रमाए त भैलिनी सुन्थें होला

गजल


म भित्र छ एउटा इतिहास मेरै 
कसैले नबुझ्ने कुरा खास मेरै 

नियाल्छु नियति सँधै उल्टो देख्छु
नमर्ने निराशा छ आसपास मेरै 

लुगा चैं फेरिन्छ तर बानी उस्तै 
बिरानो भो बुद्धि मुर्ख दास मेरै 

हँसिलो पनको दुश्मनै त हैन
फूलेको फूल छेउ सुक्यो घाँस मेरै 

गरिन्छ जे कर्म पाइन्छ रे उस्तै 
जे गर्दा नि मैले ! सत्यनास मेरै  

गजल


साँच्चै ! मेरो आजकल त फूलसँग दुश्मनी छ
जानाजानी भएका ति भूलसँग दुश्मनी छ

रिस उठ्छ पुर्णिमाको टह टह जून देख्दा
थाकेपछि सुस्ताउने सुकुलसँग दुश्मनी छ

प्यास बढ्छ आँत जल्छ कहाँ पाउँ शितलता
भुल्भुल गर्दै उम्रिएको मूलसँग दुश्मनी छ

बाढी आयो खोला भरि पारी पट्टि पुग्नै पर्ने
यौटा मात्र बिकल्प यो पूलसँग दुश्मनी छ 

गजल


भैंसीलाई सिङको भारी भए पछी जे नि हुन्छ !!
धोकेवाज हाराहारी भए पछी जे नि हुन्छ !!

सत्य बोल्नु पाप हो रे, उसो भए झुट ! पुण्य ?
यस्तै भन्ने नरनारी भए पछी जे नि हुन्छ !!

हेर्ने आँखा भन्दा पनि सुन्ने कानको आधारमा  
शंका फूल्ने मनको बारी भए पछी जे नि हुन्छ !!

आदर र सत्कारको रीतिस्थिति बिर्सिएर
घर भित्रै मारामारी भए पछी जे नि हुन्छ !!

मित्रताको अर्थ आफ्नो अन्धभक्त ठान्नेसँग
घमण्डको त्यो छहारी भए पछी जे नि हुन्छ !!

गजल


सक्छौ !,आफ्नै पहिचान बनाएर देखाउ
चोरी गर्दा नि  इमान  बनाएर देखाउ

कति पाएँ कति दिएँ राख्नलाई हिसाब
जीवन सत्यको बिमान बनाएर देखाउ

कसले देखेको छ र भरे भोलि के हुन्छ
बेला गोड्ने त्यो किसान बनाएर देखाऊ

बगैंचाको फूल हेर तिम्रै लागि फुल्दैछ
उसलाई शीतको बिहान बनाएर देखाउ

तिमी मात्र कहाँ हो र सबै रित्तै जाने हो
आफ्नै चिता र चिहान बनाएर देखाउ

Sunday, 4 September 2011

गज़ल

तिम्रो आँखा लाग्यो ! मेरै जीवन माथि किन ?
पराइ भए पछी, हुन खोज्छ्यौ जाति किन ?

नजिकको देउता भन्दा पराइ भुत प्यारो मान्यौ
खोज्छ्यौ फेरी चढाउन चोखो फूलपाती किन ?

दिन भरको थकान मेट्न सुस्ताउन खोज्छु जब 
अँध्यारो भै तर्साउँन आउँछ्यौ राती राती किन ?

यथार्थमा जे छ त्यहि देखाए त भै गयो नि !
अपनत्व देखाउने बहानाको ताँती किन ?

मर्दा जुठो बार्नु छैन, बाँच्दा पाल्नु पर्ने हैन !
तुल्सी पत्ता खुवाउनै यति हतार साथी किन ?

गज़ल

तिम्रो चर्चा कमाउने भोक देख्दा छक्क पर्छु !
नामी हुन देखाउने झोक देख्दा छक्क पर्छु !

प्रतिष्ठाको परिभाषा कुन्नि के पो बुझेको हो ?
आफ्नै पर्चा टंगाउने चोक देख्दा छक्क पर्छु !

हुन त हो ! सबैसँग आफ्नो आफ्नो विवेक छ,
आत्मै ढाँटी मोटाउने रोग देख्दा छक्क पर्छु !

भौतिक यो शरिरमा कहाँ चेत भेटिएला !
काँच भित्र लुकाउने शोक देख्दा छक्क पर्छु !

यथार्थमा ज्ञानी बन्न सजिलो त देख्दिन म,
सपनी मै  सजाउने लोक देख्दा छक्क पर्छु !

गज़ल

अधुरो अपुरो दिन ढली गयो
मेघले मधुरो दिन ढली गयो

सर्वत्र गोधुली बढ्यो मन्द मन्द
दशाको चुचुरो दिन ढली गयो

शितल पवन जून भेट्न आयो
बिचरो बबुरो दिन ढली गयो

प्रभात मध्यान्ह ऐया ऐया भन्दै
व्यथाको पुर्पुरो दिन ढली गयो

भिकको बटुको खाली हुँदा हुँदै
भोकको धतुरो दिन ढली गयो

Friday, 26 August 2011

गज़ल

को छ र आफन्त यहाँ बिरानो ठान्नु !!
के नयाँ भयो र त्यो चैं पुरानो ठान्नु !!

टुक्रेको मन यो कहाँ देखाउन सक्छु
खुकुरी लागेको भा'पो अचानो ठान्नु !!

आगोमा परेको छैन जल्दैछु भन्न
पानीले भिजे'पो मुटु ओभानो ठान्नु !!

औषधि के खानु रोग देखिन्न कुनै
भुँडीमा सरेको देखे पो गानो ठान्नु !!

आशांक चकित पर्छ सम्झेर यही
इकाई भए पो ठुलो र सानो ठान्नु

Sunday, 14 August 2011

गज़ल

नियालेर हेरे पछी स्वार्थ भेटें आफैं भित्र
लुकाउने,देखाउने सँगै रैछ दुइटा चित्र

भन्ने गर्थें साथीलाई धेरै स्वार्थी नबन्नु है
आज बल्ल थाहा पाएँ म नै रैछु अपवित्र

ठानेको थें मैले पनि धर्म कर्म गरेको छु
आत्मा शान्ति गर्नलाई अँगालेछु यो चरित्र

धेरै थिए मैले आफ्नो भन्ने भिड र जमात
आज आत्मा छाम्दा खेरि  भेटिएन एउटा मित्र