Thursday 3 April, 2014

"बसाईं सरेका शिखरहरु...."


युगिन सपना बोकेर
हजुर बाउको तमसुक च्यात्न
पंखेटाका प्वाँख तन्काएर
वायुको गतिमा
गाउँ बेसी फाँट छिचोल्दै
नदीको बहावलाई उछिन्दै
आज बिसंखे कान्छाको मनचरो
उडेको छ गगनमा !!!
...
झिस्मिस्सेमा भालेको डाकसंगै
घोप्टे भीरको ओरालोका
चिप्लेटी ढुंगामा थर थर काम्दै,
पिपल दमार देखि आएको
भैमानको छोरोले
आज दश बर्ष पछि
अरबमा शिखर चुमेको खबर
सुनेको दोश्रो दिन
बिशंखे कान्छाले
पत्तो पायो
शिखर त
अरब तिर पो बसाईं गएछन !

नागदहको कुइनेटोमा बसेर
चारै तिर आँखा तन्काएर
शिखर खोज्यो,
कहिँ कतै भेटिन्छन कि भनेर !
अँह,
छैन कहिँ कतै शिखरको नाक मुख
छन् त केवल
ढुंगा र माटाका थुप्राहरु
सिरु र गन्धेका झुप्पाहरु
अनि आधा डढेका कोइला निस्कने ठुटाहरू
यी र यस्तै
अर्ध मुर्छित र निष्प्राण भौतिकता मात्र :
सबै तिर उजाड उराठ देख्दा
बल्ल पो चाल पाएथ्यो
मरुभूमि भिर पाखा गाउँ बेसी छिरेछ |

अनि अर्को गुह्य कुरो बुझ्यो,
शिखर मात्र हैनन
मरुभूमी पनि बसाईं आएछन

शिखर अरब गएछन,
मरुभूमी स्वदेश पसेछन |

No comments: